काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ भने तराईका केही स्थानमा पनि वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।