काठमाडौँ । पर्साको जगरनाथपुरबाट पाँच महिनाअघि २१३ किलो गाँजासहित बरामद भएको ट्याक्टर प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ सोनवर्षाका हयात अन्सारी रहेका छन्। उनलाई गत शुक्रबार इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाँजासहित बरामद भएको ट्याक्टरको वास्तविक धनीको पहिचान गर्ने क्रममा अन्सारीलाई पक्राउ गरिएको हो। ट्याक्टरको स्वामित्व र गाँजा तस्करीसँगको सम्भावित सम्बन्धबारे उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, प्रहरीले मकवानपुरका एक गाँजा कारोबारीलाई सोनवर्षा क्षेत्रबाट उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीयका अनुसार पर्साको सोनवर्षा, सुवर्णपुर र विजयवस्ती क्षेत्र हुँदै गाँजा भारततर्फ तस्करी हुने गरेको छ। ती क्षेत्रमा गाँजा कारोबारमा संलग्न व्यक्तिहरूबीच आर्थिक लेनदेनसमेत हुने गरेको स्थानीयको दाबी छ। प्रहरीले घटनासँग जोडिएका अन्य व्यक्ति तथा गाँजा तस्करीको सञ्जालबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।