काठमाडौं । काभ्रेपलाञ्चोकको भकुण्डेवेशीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक सई गणेशप्रसाद श्रेष्ठ एक महिलासँग होटलमा भेटिएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएका छन्।
घटना सोमबार बिहान करिब ३ बजेतिरको रहेको बताइएको छ। भकुण्डेवेशीस्थित एक होटलमा सई श्रेष्ठ महिलासँग बसेको अवस्थामा भेटिएपछि स्थानीयले होटल घेराउ गरेका थिए।स्थानीयले नियन्त्रणमा लिएपछि घटनाबारे जानकारी पाएर भकुण्डे प्रहरी चौकीबाट प्रहरी टोलीसमेत होटलमा पुगेको थियो। त्यसपछि श्रेष्ठलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल लगिएको बताइएको छ।घटनासँग सम्बन्धित केही भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। भिडियोमा स्थानीयले होटलमा प्रहरी अधिकारी र उनीसँगै रहेकी महिलालाई घेरेको देखिन्छ।श्रेष्ठको होटलमा महिलासँग भेटिएको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको वास्तविक अवस्था र त्यसमा संलग्न व्यक्तिहरूबारे थप विवरण अनुसन्धानपछि खुल्नेछ।यसअघि करिब दुई महिनाअघि श्रेष्ठ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका थिए।