काठमाडौँ । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित एबी क्यारियर्सको गोदामबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधिसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४२ वर्षीय राजेश यादव रहेका छन्। विशेष सूचनाका आधारमा प्रहरीले गोदाममा छापा मार्दा हिम क्याम–एमपी मल्टी डोज, भेट लिलिभम्याक्स इन्जेक्सन र हिमहिल हर्बल स्प्रे लगायतका औषधि ठूलो परिमाणमा बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार बरामद औषधिको कुल मूल्य करिब ४ लाख १९ हजार रुपैयाँ रहेको छ। पक्राउ परेका यादवलाई बरामद औषधिसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगन्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।