काठमाडौं । फेसबुकमा भएको कुराकानी। डलर कार्डमा रकम लोड गर्ने विषयमा सम्पर्क। त्यसपछि भेट्ने प्रस्ताव। तर कलंकीको एउटा क्याफेमा पुगेका युवकका लागि त्यो भेट जीवनकै भयावह क्षण बन्न पुग्यो।
धारिलो हतियार देखाएर ट्याक्सीमा राखिएपछि नवीन रायलाई नागार्जुन पुर्याइयो र एउटा घरको भुइँतलामा बन्धक बनाइयो। प्रहरीका अनुसार रायलाई हातखुट्टा नाइलनको डोरीले बाँधेर प्लास्टिकको पाइपले कुटपिट गरिएको थियो। उनको शरीरभरि निलडाम थिए। परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागिएको थियो। प्रहरीले घटनास्थलबाट कुटपिटमा प्रयोग भएको पाइप, नाइलनको डोरी र चक्कुसमेत बरामद गरेको जनाएको छ।
घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनोज बुढाथोकी, निशान रुम्बा तामाङ, जेनिश चौधरी, निमेश कार्की, अमित ओली, प्रदीप पोखरेल र देवकुमार श्रेष्ठ छन्।
पक्राउ परेका सातै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार मनोज बुढाथोकी हुन्। उनको फेसबुकमार्फत ‘रोहित’ नाम गरेका भारतीय नागरिकसँग सम्पर्क भएको थियो। रोहितले डलर कार्डमा रकम लोड गर्ने भन्दै सामाजिक सञ्जालमा सम्पर्क बढाएका थिए। त्यसै क्रममा रायलाई बुढाथोकीलाई भेट्न पठाइएको थियो। तर राय क्याफेमा पुगेपछि बुढाथोकीको समूहले निगरानी गर्दै उनलाई धारिलो हतियार देखाएर ट्याक्सीमा जबरजस्ती राखेको प्रहरीको भनाइ छ।
रायलाई नागार्जुन नगरपालिका–५ छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा लगिएको थियो। प्रहरीका अनुसार उक्त घर बुढाथोकीले अनलाइन व्यवसाय सञ्चालन गर्ने भन्दै भाडामा लिएका थिए। प्रदीप पोखरेलले राय आएको निगरानी गर्नुका साथै ट्याक्सीमा राख्न सहयोग गरेका थिए। निमेश कार्की ट्याक्सीमा चढेका थिए भने जेनिश चौधरी र निशान रुम्बा तामाङ बुढाथोकीको कार्यालयमा काम गर्ने व्यक्ति रहेको खुलेको छ।
प्रहरीका अनुसार रायलाई क्रिप्टो कारोबार गरेको आशंका गर्दै पासवर्ड मागिएको थियो। पासवर्ड दिन दबाब दिँदै कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दिउँसो करिब २ बजे अपहरणमा परेका रायलाई अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले प्राविधिक विश्लेषण र इन्टेलिजेन्सको सहयोगमा साँझ करिब साढे ६ बजे उद्धार गरेको थियो।
केही घण्टाअघि सामान्य भेटघाटका लागि क्याफे पुगेका राय अपहरणकारीको नियन्त्रणमा पुगे, कुटपिट सहनुपर्यो र परिवारसँग लाखौँ रुपैयाँ फिरौती मागियो। सामाजिक सञ्जालबाट सुरु भएको सम्पर्क कसरी योजनाबद्ध अपहरणसम्म पुग्यो भन्ने यो घटनाले देखाएको छ। पक्राउ परेका सातै जनामाथि अनुसन्धान जारी रहेकाले घटनामा संलग्न अन्य व्यक्ति र यसको वास्तविक उद्देश्यबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।