काठमाडौं । देशभर मनसुन वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेर्नसमेत आग्रह गरिएको छ।