जनकपुरधाम । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका गोपाल साह, रेखा साह र हरेराम साहलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका गोपाल साह, उनकी श्रीमती रेखा साह र छोरा हरेराम साहविरुद्ध जग्गा दृष्टिबन्धकमा लिएर बैंकमा धितो राख्दै करोडौँ रुपैयाँ ऋण लिएको तथा ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो।
प्रहरीका अनुसार जनकपुरधाम–२ का गोविन्दकुमार साहले व्यापार व्यवसायका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धक राखी कपाली तमसुकमार्फत ९९ लाख रुपैयाँ ऋण लिएका थिए। त्यसक्रममा दृष्टिबन्धकमा राखिएको जग्गा जग्गाधनीलाई जानकारी नदिई बैंकमा धितो राखेर करिब ४ करोड रुपैयाँ ऋण लिएको प्रहरीको दाबी छ।
अनुसन्धानका क्रममा प्रहरीले गोपाल साहको जनकपुरस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सासमेत बरामद गरेको जनाएको थियो।
प्रहरीले गोपाल साहलाई जनकपुरधामको एक होटलबाट, रेखा साहलाई धनुषाको नगराइन नगरपालिका–जटहीस्थित सीमा क्षेत्रबाट तथा हरेराम साहलाई काठमाडौंँबाट पक्राउ गरेको थियो। उनीहरू तीनै जना यस मुद्दामा फरार रहेको प्रहरीको भनाइ थियो।
यसअघि मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै पक्राउ परेकाहरूलाई कडा कारबाही गर्न माग गरेका थिए। अदालतमा थुनछेक बहस भइरहेका बेला समेत पीडितहरूले प्रदर्शन गरेका थिए। पछिल्लो घटनाक्रममा अदालतले गोपाल र हरेराम साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विवरण सार्वजनिक भएको छ।
यस प्रकरणमा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक गोविन्दकुमार साहले समेत आफू मिटरब्याजको पीडित भएको दाबी गरेका छन्। उनले ९९ लाख रुपैयाँ ऋण लिँदा १५ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा धितो राखिएको र आफूले साँवा–ब्याज तिर्न खोज्दा पनि समस्या समाधान हुन नसकेको बताएका छन्। उनले गोपाल साह, हरेराम साह, रेखाकुमारी साह र अन्य व्यक्तिमाथि संगठित रूपमा ठगी गरेको आरोप लगाएका छन्। यी आरोपको अन्तिम पुष्टि भने अदालतको फैसलाबाट हुनेछ।