काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा विषयगत समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।
बिहान १०ः३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र सुझाव सङ्कलन गर्ने कार्यसूची रहेको छ। साथै, सोही बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ पारित गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।
यसैबिच, बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा देशमा मानव अधिकारको वर्तमान अवस्था र राष्ट्रिय मानव अधिकार आयोगका विभिन्न प्रतिवेदनहरूको कार्यान्वयनका सम्बन्धमा गहन छलफल हुने कार्यसूची रहेको छ। त्यसैगरी, दिउँसो २ः३० बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने परराष्ट्र मामिलाका समसामयिक विषयहरूमा विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।