काठमाडौं । नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा प्रविधिको दुरुपयोग गरी फेक फोटो–भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत एआईको प्रयोग गरी विभिन्न व्यक्ति तथा संघसंस्थाका कृत्रिम फोटो तथा भिडियो सिर्जना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने र चरित्रहत्या गर्ने अभिप्रायले सामग्री प्रसारण गर्ने घटना सार्वजनिक भइरहेको जनाएको हो।
प्रहरीका अनुसार यस्ता गतिविधि नैतिक रूपमा गलत हुनुका साथै प्रचलित कानुनअनुसार दण्डनीयसमेत हुन सक्छन्। एआईको दुरुपयोग गरी सामाजिक त्रास सिर्जना गर्ने, व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने वा चरित्रहत्या गर्ने कार्यमा संलग्नलाई कानुनी कारबाही हुने चेतावनी प्रहरीले दिएको छ।
साइबर ब्युरोले अनलाइनमा भेटिएका हरेक सामग्रीलाई हतारमा सत्य नमान्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ। सामाजिक सञ्जालमा फैलिएका सूचना तथा सामग्रीको विश्वसनीयता जाँच गरी आधिकारिक तथा विश्वसनीय स्रोतबाट मात्रै जानकारी लिन प्रहरीले अनुरोध गरेको छ।
प्रविधिको विकाससँगै एआईबाट सिर्जना गरिएका वास्तविकजस्तै देखिने फोटो, भिडियो तथा अडियोको प्रयोग बढिरहेका बेला प्रहरीले यस्तो चेतावनी दिएको हो। विशेषगरी एआईमार्फत तयार गरिएका ‘डीपफेक’ सामग्रीको पहिचान र त्यसको दुरुपयोग नियन्त्रण चुनौती बन्दै गएको छ।
प्रहरीले प्रविधिको सही प्रयोग गर्न र एआईको प्रयोग गरी अरूको सम्मान, गोपनीयता तथा प्रतिष्ठामा असर पर्ने गतिविधि नगर्नसमेत सर्वसाधारणलाई सचेत गराएको छ।
