काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा घरायसी विवादका क्रममा श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भेरीगंगा–१३ रामघाटका ४९ वर्षीय जयबहादुर राना रहेका छन्। प्रहरीले बुधबार साँझ घरायसी विवाद भएपछि उनले ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि पेट्रोल छर्केर आगो लगाएको जनाएको छ। आगोबाट गम्भीर घाइते भएकी महेश्वरीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको थियो। उनको अनुहार, घाँटीसहित शरीरका विभिन्न भागमा करिब ३५ देखि ३६ प्रतिशत जलेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार थप उपचार आवश्यक भएपछि उनलाई भारतको लखनउ रेफर गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।