काठमाडौं । भारतीय क्रिकेटर तथा आईपीएल टोली दिल्ली क्यापिटल्सका विकेटकिपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई पश्चिम बंगालको हुगली ग्रामीण प्रहरीले पक्राउ गरेको हो।
भारतीय समाचार संस्था पीटीआईका अनुसार पोरेलले विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। हुगली ग्रामीणका प्रहरी अधीक्षक कुँवर भूषण सिंहले पोरेलविरुद्ध मुद्दा दर्ता भइसकेको र अदालतबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। एक महिला चिकित्सा विद्यार्थीले गत जुन २३ मा मोघरा प्रहरी चौकीमा पोरेलविरुद्ध उजुरी दिएकी थिइन्। उजुरीमा आफूहरू करिब साढे तीन वर्षदेखि सम्बन्धमा रहेको र विवाह गर्ने योजना रहेको दाबी गरिएको छ। प्रहरीका अनुसार मोघरा प्रहरी चौकीमा दर्ता भएको उक्त मुद्दामा भारतीय न्याय संहिताका विभिन्न धाराका साथै सूचना प्रविधिसम्बन्धी कानुनका प्रावधानअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। पोरेलले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै त्यसलाई झुटो दाबी गरेका छन्। सन् २०२३ देखि भारतीय क्रिकेटको प्रमुख घरेलु प्रतियोगितामा खेल्दै आएका पोरेल बंगाल क्रिकेट टोलीका महत्वपूर्ण खेलाडीमध्ये एक हुन्। उनले हालसम्म ३५ खेलमा ७६९ रन बनाएका छन्।