काठमाडौँ । रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको घटनामा प्रहरीले वडाध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ।
मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालयनजिक मौलापुर–जयनगर सडकखण्डमा २०८२ असार ६ गते दिउँसो करिब १ः४० बजे दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा मौलापुर–३ का वडाध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
कुशवाहाले चलाएको मोटरसाइकलको पछाडि सवार करिब २० वर्षीय निरज कुशवाहा घाइते भएका थिए। उनको उपचारका क्रममा २०८२ माघ १७ गते बिहान १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सवारी ज्यान मुद्दामा वडाध्यक्ष महेश महतो कोइरी र मोटरसाइकल चालक त्रिकिशोर कुशवाहालाई २०८३ साउन २५ गते पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।