काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अवैध रूपमा तेल निकालेर बिक्री–वितरण गरिरहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट फलामको पाइपमा जडान गरिएको हुक प्रयोग गरी सिल खोलेर तेल निकाल्ने कार्य भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले वीरगञ्ज–१४ स्थित सौदागर आयल सेन्टरमा छापा मारेको थियो। कारबाहीका क्रममा आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा शाखाका कर्मचारी २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर, साथै ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा प्रयोग भएका दुवै ट्याङ्कर नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।