काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि घोषणा गरेको तलब वृद्धि साउन महिनादेखि नै कार्यान्वयन हुने भएको छ।
साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले तलब, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेसँगै बढेको सुविधा लागू हुने भएको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) तथा अतिरिक्त महानिरीक्षक (एआईजी)को तलब समान रहनेछ। नयाँ तलबमानअनुसार दुवै संगठनका आईजीपी र एआईजीले ग्रेडसहित मासिक ८४ हजार ५७६ रुपैयाँ पाउनेछन्।
यसरी हेर्दा प्रधान सेनापति र नेपाली सेनाका ‘रथी’को तलब प्रहरी प्रमुखहरूको भन्दा बढी छ । अधिकृत स्तरमा पनि नेपाली सेनाको तलब केही बढी देखिन्छ । सेनाको ‘सेनानी’ (क्याप्टेन)को कुल तलब ६७,९०७ रुपैयाँ हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ‘निरीक्षक’ (इन्स्पेक्टर) को तलब ६०,८७४ रुपैयाँ रहेको छ।
यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी) को तलब ७३ हजार ७५० रुपैयाँ, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को ७० हजार ७९४ रुपैयाँ, प्रहरी उपरीक्षक (एसपी) को ६७ हजार ९२ रुपैयाँ, प्रहरी नायब उपरीक्षक (डीएसपी) को ६२ हजार ५४६ रुपैयाँ पुगेको छ।
उच्च पदहरूमा तलबको अन्तर देखिए पनि तल्लो तहमा भने तीनवटै सुरक्षा निकायको तलब समान रहेको छ। नेपाली सेनाका सिपाही, नेपाल प्रहरीका जवान र सशस्त्र प्रहरीका जवानको कुल तलब ३६,३३८ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, नयाँ भर्ना हुने ‘रिक्रुट’ को तलब पनि तीनवटै निकायमा २७,१७२ रुपैयाँ नै रहेको छ।
बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब स्केलमा १० प्रतिशत र प्रोत्साहनबापत थप १० प्रतिशत गरी २१ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए । बढेको तलब नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै निजामती कर्मचारी, स्वास्थ्य सेवाका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले पनि पाउनेछन्।

