काठमाडौं । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण मागेको छ । प्रदेश प्रहरी कार्यालयले मोरङका एसपी कटवालाई ९ बुँदे प्रश्नसहित स्पष्टीकरण मागेको हो ।
विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा ५ घण्टासम्म छापा मारेर केही नभेटी फर्किएको प्रकरणमा लापरबाही,अधिकारको अनुचित प्रयोग,निर्णय प्रक्रियामा त्रुटि, व्यवसायिक आचरणजस्ता विषयमा प्रष्ट पार्न भन्दै प्रधान कायालयका एसएसपी योगेन्द्रसिंह थापाले हस्ताक्षर गरेर स्पष्टीकरणको पत्र पठाएका हुन् ।
हेडक्वार्टरले मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाको आधारमा गरेको भनी प्रश्न सोधिएको छ ।
त्यस्तै छापा मार्ने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अपरिहार्य कारण के थियो भनेर जवाफ मागिएको स्रोतले जनाएको छ । ९ बुँदे स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र माग गरिएको जनाएको छ ।