काठमाडौं । काठमाडौं र काभ्रेका विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा लुटपाट गरेको आरोपमा प्रहरीले ‘कर्मा समूह’का पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङ, काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरुङ र मनोज तामाङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार कर्मा तामाङ उक्त समूहका मुख्य योजनाकार हुन्।
प्रहरीका अनुसार कर्माविरुद्ध २०७९ यता मात्रै नौ वटा मुद्दा दर्ता भएका छन्। उनी गत वर्ष भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएका थिए। त्यसपछि चोरी, डाँका तथा लुटपाटका घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ।
अनुसन्धानका क्रममा प्रतिमान गोलेले लुटपाटका क्रममा मोटरसाइकल चलाउने, पासाङ घिसिङले मोटरसाइकलको व्यवस्था मिलाउने तथा मनोज तामाङले सुन कारोबारसँग सम्बन्धित भूमिका खेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो समूह पछिल्लो समय कम्तीमा चार वटा लुटपाटका घटनामा संलग्न रहेको आरोप छ। साउन ७ गते धापासीमा हिँडिरहेकी ६६ वर्षीया महिलाको एक तोला सुनको सिक्री लुटिएको, असार १५ गते नरेफाँट क्षेत्रमा एक व्यक्तिको तीन तोला सुनको सिक्री खोसिएको, सोही राति धुलिखेलमा एक व्यक्तिबाट एक तोला २० लाल सुन लुटिएको तथा असार १३ गते शान्तिनगरमा तरकारी बजार जाँदै गरेकी महिलाको करिब साढे दुई तोला सुनको सिक्री लुटिएको घटनामा यही समूहको संलग्नता रहेको प्रहरीको दाबी छ।
प्रहरीले घटनाको अनुसन्धान गर्दै जाने क्रममा बनेपाबाट समूहका चार जनालाई पक्राउ गरेको थियो। त्यसपछि मुख्य अभियुक्त कर्मा तामाङको खोजी तीव्र बनाइएको थियो।
एसएसपी घिमिरेका अनुसार कर्मालाई बुधानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित पानी ट्यांकी नजिकबाट पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको र त्यसबाट पनि नियन्त्रणमा नआएपछि एक राउन्ड गोली उनको खुट्टामा प्रहार गरिएको जनाएको छ।
घाइते कर्मा तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।