काठमाडौं । थाइल्यान्डबाट करिब ११ किलोग्राम गाँजा नेपाल भित्र्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले पक्राउ गर्नेमा भारतको पञ्जाबका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह तथा हरियाणाका २२ वर्षीय साहिल रहेका छन्।
प्रहरीका अनुसार शनिबार राति क्याथे प्यासिफिक एअरवेजको उडानमार्फत दुई जना भारतीय नागरिक थाइल्यान्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। उनीहरूले ल्याएको गाँजा बुझ्न अर्को एक भारतीय नागरिक विमानस्थल पुगेका बेला तीनै जनालाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट करिब ११ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।