काठमाडौँ । दाङबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर, नगद रकम र डिजिटल तराजु बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति घोराही उपमहानगरपालिका–१५ न्युरोड क्षेत्रमा गरिएको निगरानीका क्रममा ब्राउनसुगर जस्तो देखिने १२० मिलिग्राम पदार्थ र नगद १६ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–४ निवासी २८ वर्षीय सुदिप चौधरी र घोराही–१३ की २० वर्षीया देवीका श्रेष्ठ रहेका छन्। उनीहरूलाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको लागूऔषध घोराही उपमहानगरपालिका–१८ ढोडेनी निवासी ४० वर्षीय महेन्द्र चौधरीबाट खरिद गरिएको खुलेपछि प्रहरीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा महेन्द्रको घरबाट ब्राउनसुगर जस्तो देखिने ७७० मिलिग्राम पदार्थ, एक थान डिजिटल तराजु र नगद ५ लाख ६८ हजार १७० रुपैयाँ बरामद भएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।