काठमाडौँ । कपिलवस्तुमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्लाको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु।प्र। ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान करिब १ः५० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै खुल्न सकेको छैन। शव हाल जिल्ला अस्पताल तौलिहवामा राखिएको छ। दुर्घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनापछि बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ का २१ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–२ निवासी २८ वर्षीय श्यामकुमार कामी भने रुपन्देहीमा प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।