काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन स्थानीय नागरिक, अन्य सुरक्षा तथा प्रशासनिक निकाय र सरोकारवालाहरूसँग निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिएका हुन् ।
उत्तर र दक्षिण दुवैतर्फका समकक्षीहरूसँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाएर सीमा सुरक्षा र अपराध नियन्त्रणका कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको उनको भनाइ छ ।सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्थाका लागि विगतदेखि नै विभिन्न सुरक्षा कारबाही र गतिविधिहरू सञ्चालन गर्दै आएको महानिरीक्षक पौडेलले बताए ।
आगामी दिनमा पनि प्रचलित कानूनको परिधिभित्र रही उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सीमा सुरक्षालाई थप मजबुत बनाउन सङ्गठन क्रियाशील रहने उनले प्रतिबद्धता व्यक्त गरे ।