काठमाडौं । नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्ग लगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिलालाई विशेष अपरेसन गरी पक्राउ गरिएकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिए।
उनका अनुसार अन्य दश जनामाथि अनुसन्धान जारी छ। उनले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी र क्रिप्टोमार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी गराए।
उनले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाइएको बताए।
उनका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने विचौलियाविरूद्धको अभियानमा प्रहरीले ३०९ जनालाई पक्राउ गरेको छ। तीमध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको छ एसपी भट्टराईले जानकारी दिए।