काठमाडौँ । धनुषामा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शुक्रबार धनुषाको मिथिला नगरपालिका–६ क्षेत्रमा विशेष अपरेशन सञ्चालन गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गर्ने क्रममा एक राउण्ड हवाई फायर गर्नुपरेको थियो। पक्राउ परेका दुवै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, उनीहरूको साथबाट दुई थान मोबाइल फोन, भारतीय आधार कार्ड तथा भारतीय सवारी चालक अनुमति पत्रसमेत बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषामा राखिएको प्रहरीले जनाएको छ।