काठमाडौँ । काठमाडौँ महानगरपालिका–३० मा कार्यरत लेखा अधिकृत उद्धव भट्टराई घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार स्थायी लेखा नम्बर ९प्यान० बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने नाममा सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही उजुरीका आधारमा खटिएको टोलीले भट्टराईलाई घुस रकम बुझिसकेको अवस्थामा रङ्गेहात पक्राउ गरेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।