काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा सुनिश्चित गर्ने दायित्व प्रहरीको मात्र नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबै पक्षको साझा जिम्मेवारी भएको बताएका छन्।
शुक्रबार काठमाडौँस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सडक सुरक्षामा सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताए। आईजीपी कार्कीले आन्दोलनका क्रममा ट्राफिक एफएमका भवन तथा स्रोत–साधनमा क्षति पुगे पनि पुनर्निर्माणपछि संस्थाले नयाँ उत्साहका साथ प्रसारणलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरे। उनले नागरिकप्रति गरिएको प्रतिबद्धतालाई कायम राख्दै सेवा अवरुद्ध हुन नदिनु प्रशंसनीय कार्य भएको उल्लेख गरे।
उनले सडक सुरक्षालाई प्रहरीको एकल जिम्मेवारीका रूपमा हेर्न नहुने बताउँदै विभिन्न तहका सरकार, सम्बन्धित निकाय, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गरे मात्र सडक सुरक्षित बन्ने धारणा व्यक्त गरे। सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनका लागि सबै पक्षबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिए।