काठमाडौँ । वैदेशिक रोजगारीका नाममा कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–५ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ का ३७ वर्षीय हरिबहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका–३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–२ का ४७ वर्षीय अमृत मगर रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार हरिबहादुरले कम्बोडिया पठाइदिने भन्दै दुई जनाबाट ५ लाख रुपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइदिने भन्दै एक जनाबाट १० लाख ७० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएको पीडितको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हरिबहादुरलाई बुढानीलकण्ठ नगरपालिका–७ बाट र अमृतलाई ललितपुर महानगरपालिका–५ बाट पक्राउ गरेको जनाएको छ। दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।