काठमाडौं । सिरहामा कार्यरत नेपाल प्रहरीका प्रहरी निरीक्षक विशाल मल्ल असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
असार महिनामा सांगठनिक जिम्मेवारी पूर्ण रूपमा लगनशील र कर्तव्यनिष्ठ भई निर्वाह गरेको, समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराध अनुसन्धान तथा लागूऔषध नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले मल्ललाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
सिरहास्थित इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख रहेका मल्ललाई मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले बुधबार एक कार्यक्रमबीच मल्ललाई प्रशंसापत्र र पुरस्कारसहित सम्मान गरेका हुन् ।
इन्स्पेक्टर मल्लले गत असार ७ मा सिरहा नगरपालिका-२१ लगडीगोठबाट कुख्यात लागूऔषध कारोबारी भारतीय नागरिक २८ वर्षीय छोटु भन्ने रंजितकुमार पासवान र नवराजपुर गाउँपालिका-५ स्थित सीमावर्ती क्षेत्रबाट असार १९ मा भारतको मधुवनी जिल्लाका अब्दुल कलामलाई खुट्टामा गोली प्रहार गरी लागूऔषधसहित नियन्त्रणमा लिएका थिए।
यस्तै, सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदाय मृत्यु प्रकरणका अभियुक्तहरू २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवलाई समेत मल्लको कमान्डमा खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रबाट खोजतलास गरी पक्राउ गरेको थियो ।