काठमाडौँ। ट्याक्सी चालकलाई लठ्याउने औषधि मिसाइएको पेय पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी नेत्रकुमार सुनार लोहनी रहेका छन्। उनले अर्का एक व्यक्तिसँग मिलेर अर्घाखाँचीका ट्याक्सी चालक सन्तोष शाहीलाई बेहोस बनाएर नगद, सुनका गरगहना र मोबाइल लुटेको आरोप छ। प्रहरीका अनुसार गत असार २९ गते दुई जनाले सन्धिखर्कस्थित शान्ति बगैंचाबाट गोरुसिङ्गेसम्म जान भन्दै ट्याक्सी रिजर्भ गरेका थिए। गन्तव्यमा पुगेपछि अत्यधिक गर्मी भएको भन्दै उनीहरूले चालकलाई फ्रुटी किनेर दिएका थिए। सोही पेय पदार्थमा लठ्याउने औषधि मिसाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
फ्रुटी सेवन गरेपछि चालक शाही अचेत बनेका थिए। त्यसपछि आरोपितहरूले उनको करिब दुई तोलाको सुनको सिक्री, औँठी, स्मार्टफोन तथा ट्याक्सीभित्र रहेको करिब ८ हजार रुपैयाँ नगद लिएर फरार भएका थिए। अचेत अवस्थामा रहेका चालकको पछि उद्धार गरिएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले विशेष अनुसन्धान टोली परिचालन गरी विभिन्न जिल्लामा खोजी अभियान चलाएको थियो। सोही क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा वालिङबाट नेत्रकुमार सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिवसबहादुर जीसीका अनुसार पक्राउ परेका सुनारलाई जिल्ला अदालत अर्घाखाँचीबाट नौ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। फरार रहेका अर्का आरोपितको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका सुनार यसअघि पनि गम्भीर आपराधिक घटनामा संलग्न रहेको खुलेको छ। उनले कर्तव्य ज्यान मुद्दामा १० वर्ष तथा जबरजस्ती करणी मुद्दामा पाँच वर्ष कैद सजाय भोगिसकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।