काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित गुहाटी मदनपुरका २६ वर्षीय जावरूल हक र हाल काठमाडौं बस्दै आएका ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ का २४ वर्षीय सरोज कार्की रहेका छन्।
उनीहरूलाई साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा जावरूलले पीडित महिलाको अश्लील भिडियो तथा तस्बिर दुरुपयोग गरी ब्ल्याकमेल गरेको, अनुचित लाभ लिन बारम्बार दबाब दिएको र आफ्नो उद्देश्य पूरा नभएपछि ती सामग्री टिकटकमार्फत सार्वजनिक गर्दै चरित्र हत्या गरेको खुलेको छ। यस्तै, सरोजले अध्ययनका क्रममा चिनजान भएर प्रेम सम्बन्धमा रहेका ती महिलासँग सम्बन्ध विच्छेद भएपछि फेसबुकमार्फत अश्लील सामग्री पोस्ट गर्दै पीडितको चरित्र हत्या गर्ने, दुःख–हैरानी दिने तथा मानसिक तनाव सिर्जना गर्ने कार्य गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।