दाङ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन्। उनीमाथि असार २७ गते पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रभावित पार्ने उद्देश्यले मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका ४८ वर्षीय शिक्षा अधिकृत अजय बोहोरा माथि मोबिल छर्किएको आरोप छ। प्रहरीका अनुसार बुढाथोकीले बोहोराले चलाइरहेको रा.१ ब. १०४२ नम्बरको मोटरसाइकल रोकेर उनको शरीरमा मोबिल खन्याएका थिए। घटनापछि उनी फरार रहेका थिए। घटनासम्बन्धी अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो। त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले असार २९ गते घोराही–१५ बाट लुकिछिपी बसेको अवस्थामा बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।