काठमाडौँ । रूपन्देहीबाट पेस्तोल, गोली र करिब २०० ग्राम खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार शुक्रबार राति मायादेवी गाउँपालिका–६ गुरबनिया क्षेत्रबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–४ निवासी २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तर प्रदेशका ५१ वर्षीय इकवाल खान र भारतको सिद्धार्थनगर जिल्लास्थित साधुनगरका ३४ वर्षीय राम दयाल शर्मालाई नियन्त्रणमा लिइएको हो। लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा एक जनाले प्रहरीमाथि पेस्तोल तेर्स्याएका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा इकवाल खान घाइते भएको प्रहरीले जनाएको छ। घाइते खानको भीम अस्पताल, भैरहवामा उपचारपछि डिस्चार्ज गरिएको छ। घटनास्थलबाट एक थान पेस्तोल, दुई राउण्ड गोली, करिब २०० ग्राम खैरो हेरोइन तथा उनीहरूले प्रयोग गरेको यूपी ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।