काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका–स्थित गुरुहनियाँ क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले कारबाहीका क्रममा एक राउण्ड गोली प्रहार गरेको हो। घटनामा एक भारतीय नागरिकको खुट्टामा गोली लागेको छ भने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराका अनुसार पक्राउ परेकाहरूको साथबाट दुई सय ग्रामभन्दा बढी खैरो हेरोइन, एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको छ। प्रहरीका अनुसार आरोपीहरू मोटरसाइकलमा सवार रहेका बेला उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनुपरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।