काठमाडौं । गणेश नेपाली आत्मदाह प्रयास प्रकरणमा तीन जना नगर प्रहरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई कालीमाटी वृत्तमा राखेर सोधपुछ र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
मुगुको सोरु गाउँपालिका-१ निवासी २५ वर्षीय नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए।
घटनास्थलमा खटिएका प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर आज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
आत्मदाहको प्रयासअघि बिहीबार नै दिउँसो त्रिपुरेश्वरमा बाइक रोकेका बेला काठमाडौं महानगरको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि विवाद र तनावका कारण उनले आफ्नै शरिरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।