काठमाडौँ । संखुवासभामा जबरजस्ती करणी (बलात्कार) मुद्दामा लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पाँचखपन नगरपालिका–७ निवासी ५७ वर्षीय गंगा बहादुर राई (दुर्गा बहादुर राई) लाई बुधबार विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार राई २०५५ सालमा २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका थिए। उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत, धनकुटा इजलासले २०६५ भदौ ५ गते उनलाई तीन वर्ष कैद सजाय सुनाएको थियो।
विशेष खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय वानाको टोलीले उनलाई पाँचखपन–७ स्थित आफ्नै घर नजिकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई अदालतले तोकेको सजाय कार्यान्वयनका लागि जिल्ला अदालत चैनपुरमा उपस्थित गराइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै ६० भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरिएको छ।