सर्लाही। सर्लाहीको लालबन्दीमा बुधबार राति मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा गोली प्रहार भएको छ। लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा अज्ञात व्यक्तिले मोबाइल पसल सञ्चालकमाथि लुटपाट गर्ने प्रयास गरेका हुन्।
लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–९ बस्तीपुरका हरिप्रसाद सापकोटामाथि बुधबार राति ८ बजेपछि लुटपाटको प्रयास भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।
बजारमा रहेको पसल बन्द गरी एक जना साथीसँग मोटरसाइकलमा घर फर्कंदै गर्दा मोटरसाइकलमै आएका अपरिचित व्यक्तिले सापकोटामाथि लुटपाटको प्रयास गरेका थिए। लुटपाटको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेका व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी गौतमले बताए।
घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको प्रहरीले जनाएको छ। मोबाइल व्यवसायीमाथि लुटपाट गर्ने उद्देश्यले गोली प्रहार भएको घटनापछि लालबन्दी क्षेत्रका व्यवसायी तथा स्थानीयवासीमा त्रास फैलिएको छ।