काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट करिब १६५ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ का ५१ वर्षीय विक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्। प्रहरीका अनुसार सोमबार बिहान श्री सबुज गण प्रतापपुर सुरक्षा पोस्टबाट खटिएको नेपाली सेनाको टोलीले ११ वटा पोकामा प्याक गरिएको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट पुगेको प्रहरी टोलीले उनीहरूलाई आफ्नो नियन्त्रणमा लिएको हो। बरामद गरिएको गाँजासहित पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।