धनगढी ।प्रहरी हिरासतबाट थुनुवा फरार भएपछि डिउटीमा खटिएका जवान निलम्बित भएका छन् ।
कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट आइतबार राति भागेका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी अझै पक्राउ पर्न सकेका छैनन् ।
आइतबार राति टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेका थिए । तर, हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् । यसैबिच थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ ।
यस्तै फरार अभियुक्तको खोजीका साथै घटनाको आन्तरिक छानबिन पनि सुरु गरेको छ । जसका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।उक्त समितिले यसबारे छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।