काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की राष्ट्रसंघीय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान गरेसँगै एआईजी राजन अधिकारीले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका छन् ।
निमित्त प्रहरी महानिरीक्षकको रूपमा जिम्मेवारी लिएसँगै उनले प्रहरी प्रधान कार्यालयबाट शान्ति सुरक्षा, अपराध अनुसन्धान र जनशक्ति परिचालनका विषयमा देशभरका प्रहरीहरूलाई निर्देशन दिए ।
एआइजी अधिकारीले आपराधिक गतिविधिको पूर्व सूचना संकलन गरी प्रभावकारी सुरक्षा रणनीति अपनाउन र कुनै पनि घटना हुन नदिन सक्रिय रहन निर्देशन समेत दिएका छन् ।
साथै विपद् व्यवस्थापन तथा दैनिक काम कारबाहीमा नागरिकलाई तत्काल आड, भरोसा र सहायता दिने चुस्त प्रहरी संयन्त्र निर्माणमा जोड दिन निर्देशन दिएका हुन् ।