काठमाडौँ । कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता प्रकरणमा इन्स्पेक्टर कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
गुरुङ एपीएफ स्कुलमा लेखा प्रमुखको रूपमा कार्यरत थिइन् । लेखा प्रमुख गुरुङ र उनका साथी लीला लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेलेबताए । उनीहरू शनिबार ठमेलबाट पक्राउ परेका हुन् ।
विद्यालयमा भएको आर्थिक अनियमितताबारे सशस्त्रको हेड्क्वार्टरले छानबिन गरिरहेको थियो । सशस्त्र प्रहरीको पत्रको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर उनले अनियमितता गरेको उजुरी परेको थियो । विगत ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । अनियमिततामा इन्स्पेक्टर गुरुङ मुख्य भूमिकामा देखिएकी छन् । उनी ६ वर्षदेखि निरन्तर एपीएफ स्कुलको लेखामा कार्यरत छिन् । सशस्त्र प्रहरी हेड्क्वार्टरले ४ आर्थिक वर्षको बैंकिङ्ग कारोबारको विवरण मागेर छानबिन गरेको थियो ।