काठमाडौं । नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन् ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका राठौरलाई सरकारले उपत्यका प्रहरीको कमान्ड सम्हाल्ने जिम्मेवारी सुम्पिएको हो ।
सोही अनुसार शुक्रबार उनले काठमाडौं उपत्यकाको कमान्ड सम्हालेका हुन् । जिम्मेवारी सम्हालेसँगै एआईजी राठौरले भ्रष्टाचार तथा अनुचित लेनदेनमा शून्य सहनशीलताको नीति लागू गर्न निर्देशन दिएका छन् ।
एआईजी सुशील सिंह राठौरले मातहत कार्यालय प्रमुखहरुलाई भ्रष्टाचार तथा अनुचित लेनदेनमा शून्य सहनशीलताको नीति पूर्ण रूपमा पालना गरी सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार सहितको छिटो-छरितो सेवा प्रदान गर्न निर्देशन दिए ।
यसैगरी, काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन अपराध अनुसन्धान तथा नियन्त्रण, सूचना संकलन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन र प्रहरी जनशक्ति एवम् कार्यालय व्यवस्थापनमा विशेष ध्यान दिन समेत आवश्यक निर्देशन दिए ।