काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा भीमदत्त नगरपालिका-१८ कटानबाट भण्डारीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो । भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला पनि भएको थियो ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुनसकेको छैन ।