काठमाडौं । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको ठहर गर्दै उच्च अदालत जनकपुरले नेकपा ९एमाले० का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ।
कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको फैसला आंशिक रूपमा उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरेको हो। यसअघि जिल्ला अदालतले २०८० मंसिरमा उनीसहित केही आरोपितलाई सफाइ दिएको थियो।
घटना कसरी भएको थियो त ?
२०७२ सालको मधेश आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सशस्त्र प्रहरीका असई थमन विक गम्भीर घाइते भएका थिए। उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा महोत्तरीको सनोखडास्थित कच्ची सडकमा एम्बुलेन्स रोकिएको थियो। त्यही क्रममा आन्दोलनकारीको समूहले एम्बुलेन्सबाट घाइतेहरूलाई बाहिर निकालेर कुटपिट गरेको आरोप छ। सो आक्रमणमा थमन विकको मृत्यु भएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका केही अभियुक्तले घटनामा लक्ष्मी कोइरीको पनि संलग्नता रहेको बयान दिएका थिए। मुद्दा दर्ता भएपछि उनी फरार रहेकै अवस्थामा एमालेमा प्रवेश गरेका थिए र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए। फरार अवस्थामै उनी पटक–पटक प्रतिनिधिसभा बैठकमा सहभागी भएपछि राज्य संयन्त्रले संरक्षण दिएको भन्दै व्यापक आलोचना भएको थियो। जिल्ला अदालतबाट सफाइ पाएपछि उनी खुलेर सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन थालेका थिए। उच्च अदालतले भने प्रत्यक्षदर्शी तथा अन्य प्रमाणलाई आधार मान्दै जिल्ला अदालतको फैसला संशोधन गरेको हो।
यसै मुद्दामा प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतले यथावत् राखेको छ। यस्तै अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय संशोधन गर्दै पाँच–पाँच वर्ष कैद कायम गरिएको छ। उच्च अदालतले लक्ष्मी कोइरी र पवन कापरलाई सफाइ दिने जिल्ला अदालतको फैसला पनि उल्ट्याउँदै दुवैलाई पाँच वर्ष कैद सजाय सुनाएको छ। गत फागुनमा सम्पन्न उपनिर्वाचनमा एमालेले कोइरीलाई पुनः महोत्तरी–१ बाट उम्मेदवार बनाएको थियो। तर उनी निर्वाचनमा पराजित हुँदै तेस्रो स्थानमा सीमित भएका थिए।