काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा चार बालबालिकालाई मोबाइल चोरीको आरोप लगाउँदै रूखमा बाँधेर कुटपिट गरेको घटनामा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालबालिकालाई डोरीलेa बाँधेर शारीरिक दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइवालाई नियन्त्रणमा लिइएको हो। प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त घटना मंगलबार भएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरीले चारै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले पक्राउ परेका चारै महिलाविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।