काठमाडौँ । झुम्का कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले चोरीको आशंका गरिएको कारसहित सप्तरीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीका २४ वर्षीय चन्द्रबहादुर पाख्रिन विक्रम रहेका छन्। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित एक होटल अगाडि बा.८ च ९४३० नम्बरको कार शंकास्पद अवस्थामा रोकिएको सूचना पाएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
जाँचका क्रममा प्रहरीले गाडीका कागजात र चालक अनुमतिपत्र माग्दा उनले कुनै पनि कागजात देखाउन सकेनन्। त्यसपछि यातायात कार्यालयबाट सवारी साधनको विवरण परीक्षण गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर नमिलेको पाइएको र गाडी चोरीको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। हाल पाख्रिनमाथि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः झुम्का कारागार पठाइने तयारी गरिएको प्रहरीले जनाएको छ। पाख्रिन लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए। प्रहरीका अनुसार उनको अझै १७ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ।