काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ गरेको हो ।
हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर शेर्पाले लाभ लिएको आरोप छ । विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको छ ।
विद्यालयलाई अनुचित हानि गर्ने नियतले उनले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ ।