काठमाडौँ । काठमाडौँ उपत्यकाको चोक चोकमा आजभोलि प्रचार सामग्री सहितका विद्यार्थी, स्वयंसेवक र ट्राफिक प्रहरीहरू भेटिन्छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा सड्क सुरक्षा सम्बन्धी अभियानमा उनीहरू खटिएका हुन् ।
उनीहरुले सडकमा चालकलाई नियम नतोड्न आग्रह गर्दै तोडे कडा कारबाही हुनेतर्फ सचेत गराउँदै आएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विमान परिचारिका अर्थात एयर होस्टेसलाई पनि सचेतना कार्यक्रममा परिचालन गरिरहेको छ । एयर होस्टेस परिचालनमा गिता एभिएसन सँग ट्राफिक प्रहरीले सहकार्य गरेको छ ।
रोबोटिक प्रविधिबाट पनि सचेतना गराउन ट्राफिक प्रहरीले एउटा निजी कम्पनीसँग सहकार्य गरिरहेको छ । ‘युनिट्री नेपाल’सँगको समन्वयमा रोबोटलाई ‘प्रोग्रामिङ’ गर्ने काम भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
सुधन गुरुङ गृहमन्त्रीमा पुनर्बहाली भएसँगै उनकै निर्देशनमा ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो । गुरुङ जेठ २६ मा पुनर्बहाली भएका थिए । सचेतना अभियान असार महिनाभर चल्ने एसपी सुवेदीले जानकारी दिए ।
घर घरमा सड्क सुरक्षा सम्बन्धी सन्देश पुर्याएसँगै ट्राफिक प्रहरीले साउन महिनादेखि ट्राफिक कारबाहीलाई कडाइपूर्वक लागु गर्ने भएको छ ।साउन महिनादेखि ट्राफिक कारबाहीलाई कडाइ पूर्वक लागु गर्ने योजना उपत्यका ट्राफिक प्रहरी कार्यालयले बनाएको छ । जरिवाना र कारबाहीमा कडाइ नगर्दा थप दुर्घटना बढ्न सक्ने निष्कर्ष निकालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार ट्राफिकले अहिले सवारी नियम उल्लङ्घन गर्ने सवारी र सवारी धनीलाई ५ सय देखी ५ हजार रुपैयाँसम्म मात्रै जरिवानाको व्यवस्था छ । त्यसलाई परिमार्जन गर्दै न्यूनतम ५ हजार देखी ५० हजार सम्म बनाउनुपर्ने एसएसपी काफ्लेले बताए ।