काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवन तीव्र रूपमा बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।
शुक्रबार गृहमन्त्रालयमा आयोजित अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस कार्यक्रममा उनले लागुऔषध नियन्त्रण केवल कानुन कार्यान्वयनको विषय मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर समस्या भएको बताए। उनका अनुसार पछिल्लो तथ्यांकले लागुऔषधको समस्या बढ्दै गएको देखाउँछ, जसले युवाको स्वास्थ्य, सुरक्षा र भविष्यमा गम्भीर असर पारिरहेको छ।
कार्कीले भने, “लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर नेपालमा निरन्तर बढिरहेको छ। यसको रोकथाम र नियन्त्रणमा हामी अझ संवेदनशील हुन आवश्यक छ। यो केवल कानुनी विषय होइन, जनस्वास्थ्य र राष्ट्रिय सुरक्षासँग जोडिएको मुद्दा हो।” उनका अनुसार विगत पाँच वर्षमा प्रत्येक वर्ष औसत चार हजार लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने र करिब आठ हजार अभियुक्त पक्राउ पर्ने गरेका छन्।
चालु आर्थिक वर्ष २०८२र८३ मा मात्रै हालसम्म पाँच हजार ४७ मुद्दा दर्ता भइसकेका छन्। यस अवधिमा ८ हजार ६८ जना अभियुक्त पक्राउ परेका छन्, जसमा ७ हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी नागरिक रहेका छन्। बरामद लागुऔषधमध्ये सबैभन्दा धेरै ४५ हजार ८५० किलो गाँजा, ४७७ किलो चरेस, ४३ किलो हिरोइन, ५ किलो ७६८ ग्राम कोकिन र १२५ किलो ६६ ग्राम अफिम रहेको उनले जानकारी दिए। आईजीपी कार्कीले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाय, सरकारी निकाय, समुदाय, अभिभावक र नागरिक समाजबीचको समन्वय र सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।