काठमाडौँ । सिरहामा प्रहरीले लागू औषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अपरेशनका क्रममा एक भारतीय नागरिक पक्राउ परेका छन्।
आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय रञ्जित कुमार पासवान उर्फ छोटुलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा र लागू औषध नियन्त्रण ब्युरो गोलबजार शाखाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न खोजेको थियो। सो क्रममा पासवानसहितको समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै भाग्न खोजेपछि प्रहरीले हवाई फायरसहित गोली चलाएको जनाएको छ।
प्रहरीको गोली लागेर पासवानको खुट्टामा चोट लागेको छ। ढुंगामुढाबाट प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन्। दुवैजनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। कारबाहीका क्रममा भारतका एक नाबालकलाई समेत नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार पासवान सिरहा तथा सीमावर्ती क्षेत्रमा सक्रिय लागू औषध कारोबारी हुन्। प्रारम्भिक अनुसन्धानबाट उनले ठूलो परिमाणमा ब्राउन सुगर कारोबार गरेको र यस कार्यमा नाबालकलाई समेत प्रयोग गर्ने गरेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।