काठमाडौँ। यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी मेडिकल परीक्षण प्रक्रियामा अनियमितता गरेको आरोपमा दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार लाइसेन्स लिन वा नवीकरण गर्न अनिवार्य रूपमा आधिकारिक चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी मेडिकल प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ। तर पक्राउ परेकाहरूले परीक्षण प्रक्रिया पूरा नगरी प्रतिव्यक्ति २०० रुपैयाँ असुल्दै स्वास्थ्य अवस्था ठीक रहेको प्रमाणपत्र वितरण गरेको पाइएको छ। यस सम्बन्धमा सूचना प्राप्त भएपछि प्रहरीले विशेष निगरानी र अनुसन्धान थालेको थियो। अनुगमनका क्रममा नियमविपरीत प्रमाणपत्र वितरण भइरहेको पुष्टि भएपछि दुई चिकित्सक र तीन जना बिचौलियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।