काठमाडौँ। मधेश प्रदेशमा पछिल्लो पाँच वर्षको अवधिमा २१ हजार ९८९ वटा सडक दुर्घटना हुँदा २ हजार ७४८ जनाले ज्यान गुमाएका छन्। मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७–७८ देखि २०८१र८२ सम्म भएका दुर्घटनामा ४२ हजार ६३७ सवारी साधन संलग्न रहेका छन्।
तथ्यांकले दुर्घटनाका कारण १० हजार ८६६ जना गम्भीर घाइते भएको र ३६ हजार ४४२ जनाले सामान्य चोटपटक बेहोरेको देखाएको छ। जिल्लागत रूपमा हेर्दा धनुषामा सबैभन्दा धेरै सडक दुर्घटना भएका छन्। पाँच वर्षमा धनुषामा ४ हजार ८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु भएको छ भने २ हजार ९४३ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा रहेको छ। बारामा ४ हजार ४६८ दुर्घटना हुँदा ४१६ जनाले ज्यान गुमाएका छन् भने ७८१ जना गम्भीर घाइते भएका छन्। त्यसैगरी सर्लाहीमा ४ हजार ७२ दुर्घटना हुँदा ३३६ जनाको मृत्यु भएको छ र २ हजार १३२ जना गम्भीर घाइते भएका छन्। सिरहामा ३ हजार ५२६ दुर्घटनामा ३७९ जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना गम्भीर घाइते भएका छन्। सप्तरीमा ३ हजार ७२० दुर्घटना हुँदा ३८३ जनाले ज्यान गुमाएका छन् र १ हजार २०८ जना गम्भीर घाइते भएका छन्। यस्तै रौतहटमा ३ हजार ४०३ दुर्घटनामा ३०० जनाको मृत्यु भएको छ भने ७६९ जना गम्भीर घाइते भएका छन्।
महोत्तरीमा ३ हजार ९१ दुर्घटना हुँदा २९८ जनाको मृत्यु र ८९० जना गम्भीर घाइते भएका छन्। प्रदेशका आठ जिल्लामध्ये पर्सामा भने सबैभन्दा कम दुर्घटना भएको तथ्यांकले देखाएको छ। त्यहाँ पाँच वर्षमा २ हजार ३५ दुर्घटना हुँदा २०८ जनाले ज्यान गुमाएका छन् भने ३६५ जना गम्भीर घाइते भएका छन्। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारी ले प्रदेशमा जनसंख्या, सवारी साधन र सडक सञ्जालको विस्तारसँगै दुर्घटना नियन्त्रण चुनौतीपूर्ण बनेको बताए। उनले ट्राफिक सचेतना, सम्बन्धित निकायबीचको समन्वय तथा प्रभावकारी व्यवस्थापनमार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने उल्लेख गरे। उनले नीति निर्माण र बजेट विनियोजनका क्रममा ट्राफिक सुरक्षालाई पर्याप्त प्राथमिकता नदिइएको भन्दै यसतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।