काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। कैलारी गाउँपालिका–५ बड्कीपलियामा प्रहरीले १८० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ र ५ ग्राम ९९० मिलिग्राम चरेसजस्तो पदार्थ बरामद गर्दै २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरीलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले मंगलबार बिहान उनीहरूलाई पक्राउ गरेको हो। त्यसैगरी, झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडबाट ६२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित ५० वर्षीय तमिज आलम पक्राउ परेका छन्। अस्थायी प्रहरी पोस्ट बसपार्क र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ झोलुङ्गे पुल क्षेत्रमा प्रहरीले करिब ४ किलो ६ सय ग्राम गाँजाजस्तो पदार्थ बरामद गरेको छ।
उक्त घटनामा ३० वर्षीय नाईस बाबु तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू चकरीबाट अमलेखगञ्जतर्फ आउँदै गरेको अटोमा सवार रहेका थिए। यस्तै, बर्दियाको मधुवन नगरपालिका–५ स्थित १७ नम्बर चोकबाट ७० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित २३ वर्षीय रमेश चुदारा पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।